जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपियो
बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई सदनले स्वीकार गरेको हो।काठमाडौं, साउन ५ : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको म्याद सात दिन थप भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई सदनले स्वीकार गरेको हो।
बजेटमा करको दर हेरफेर गर्न अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय प्रवेश गराएको आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनीविरुद्ध छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो।
उक्त समितिलाई काम सुरु गरेको १० दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न निर्देशन दिइएको थियो । त्यो समय आज सकिएको छ । समय सकिएपनि अनुसन्धान प्रक्रिया नसकिएका कारण म्याद थप गरिएको हो।
समितिले बजेट प्रकरणको समाचार बाहिर ल्याउने पत्रकार, मन्त्रालयका सचिव लगायत सम्बन्धित व्यक्तिहरुसँग बयान लिइसकेको छ । समितिले शर्मालाई बिहीबार बिहान बोलाएर बयान लिइसकेको छ । बयानका क्रममा शर्माले अनधिकृत व्यक्तिको संलग्नता नभएको अडान कायम राखेका छन्।






