नेकपा समाजवादी केन्द्र बनाउने प्रचण्डकाे प्रस्ताव, डा. भट्टराई सकारात्मक
काठमाडौं, साउन ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) बिहान...
काठमाडौं, साउन ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ।
ललितपुरको हात्तीवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा उनीहरूबीच बिहान ९ बजेदेखि झन्डै ११ बजेसम्म छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ।
उनीहरूबीच पार्टी एकता गरेर अगाडि बढ्ने विषयमा छलफल भएको बताइएको छ। छलफलमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत समेटर नेकपा (समाजवादी केन्द्र) बनाउने विषयमा छलफल भएको बताइएको छ।
पार्टी एकताको पक्षमा रहेका डा. भट्टराईले माओवादी केन्द्रसँग भने एकता गर्न नसकिने बताउँदै आएका छन्।
स्रोतका अनुसार प्रचण्डले एकता गर्दा नेकपा समाजवादी केन्द्र नाम राखेर जान सकिने प्रस्ताव अघि सारेका छन्। सो प्रस्तावमा डा. भट्टराई पनि सकारात्मक रहेको जनाइएको छ। दुई नेताबीच गएको मंगलबार पनि सिंहदरबारमा भेटवार्ता भएको थियो।
जसपामा डा. भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीचको विवाद उत्कर्षमा पुगेको छ। जसपाबाट बाहिरिएर नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका डा. भट्टराईसहित उनी पक्षीय नौ नेतालाई अध्यक्ष यादवले कारबाही गरिसकेका छन्।











