Kathmandu Press

संसदीय विशेष छानबिन समितिको म्याद थप्ने तयारी

काठमाडाैं, साउन ५ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप्ने तयारी गरिएको छ।बजेट निर्माणमा अनधिकृत व्यक्तिको...
संसदीय विशेष छानबिन समितिको म्याद थप्ने तयारी

काठमाडाैं, साउन ५ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप्ने तयारी गरिएको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्न असार २२ गते गठित समितिलाई काम थालेको मितिदेखि १० दिनको समयसीमा दिइएको थियो। सो समयसीमा आज (बिहीबार) सकिँदैछ।

छानबिनका काम बाँकी रहेकाले आवश्यक समय थप गर्न सभामुखलाई आग्रह गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

उनले सिसिटीभी फुटेज रिकभर गर्न प्रहरीमा पठाइसकेको, रिपोर्ट आउन बाँकी रहेको बताए।

छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार करिब ३ घन्टा सोधपुछ गरेको छ। शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको जिकिरलाई दोहार्‍याएका छन्।

समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग छलफल गरिसकेको छ। करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग पनि समितिले सोधपुछ गरिसकेको छ।

संसदीय विशेष छानबिन समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन्।

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्