एन्फाका विदेश विभाग प्रमुख पाण्डेलाई हटाउन माग गर्दै निवेदन
काठमाडाैं, साउन ५ : अखिल नेपाल फुटबल संघ (एन्फा) का विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै निवेदन दर्ता गरिएको छ।वरिष्ठ उपाध्यक्ष...
काठमाडाैं, साउन ५ : अखिल नेपाल फुटबल संघ (एन्फा) का विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै निवेदन दर्ता गरिएको छ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाहीलगायतले एन्फाको वर्तमान कार्यसमितिको पहिलो बैठकले पाण्डेलाई विदेश विभाग प्रमुख नियुक्ति गर्ने निर्णय त्रुटिपूर्ण र विधानविपरीत रहेको भन्दै उनको बर्खास्तीको माग गर्दै आज (बिहीबार) निवेदन दर्ता गरेका हुन्।
एन्फाले विधानविपरीत श्रम स्वीकृति नलिएका जर्मन नागरिकलाई विदेश विभाग प्रमुखमा नियुक्त गरेको उनीहरुको आरोप छ।
‘एन्फाको २०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पूरा नगरी बोलाइएको बैठक) पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नवीन पाण्डेलाई नियुक्त गरिएको छ। यो निर्णय त्रुटिपूर्ण र विधानविपरीत छ,’ एन्फा अध्यक्षलाई सम्बाेधन गरिएकाे पत्रमा भनिएको छ।
एन्फाको विधानको धारा २४ को ३ (क) मा नेपाली नागरिक भएमा एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन नसक्ने उल्लेख भएको पत्रमा स्मरण गराइएको छ।
‘एन्फाले गरेको पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले सदस्यहरूलाई झुक्याई बैठकमा पाण्डेको नाम पेश गरी पास गराइएकाले सो निर्णयलाई सच्याई पाऊँ,' पत्रमा भनिएको छ, 'साथै निज पाण्डेलाई एन्फाको सम्पूर्ण कागजात हेर्न, पत्राचार गर्न इमेल पासवर्ड प्रदान गरिएको छ, सो कुराले एन्फाको गोपनीयता राष्ट्रिय अस्तित्व र सार्वभौमिकता माथि समेत आँच आउने देखिएकाले त्यस्ता विषयहरूमा गम्भीर हुन आग्रह गर्दै उक्त विदेशी नागरिक नवीन पाण्डेलाई विधानको धारा ३८ (६) बमोजिम बर्खास्तीको माग गर्दछौं।’











