एक साता काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने
काठमाडौं, साउन ५ : बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।यसअघि फोहर व्यवस्थापन...
काठमाडौं, साउन ५ : बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता व्यवस्थापनको काम नहुने भएको हो।
शहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोकिने भएको छ।
आजदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए।
महानगरले आज एक सूचना जारी गर्दै सोही अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपील गरेको छ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिकटन फोहर निस्किने गर्छ।
निजी र महानगरको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर लाने गरिएकोमा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्। हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।











