राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय सहभागिताको तयारी
काठमाडौं, साउन ४ : संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सिंहदरबारमा आज नियमित पत्रकार...
काठमाडौं, साउन ४ : संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सिंहदरबारमा आज नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएपछि हामी जानकारी गराउने नै छौँ, हामीले उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छौँ।’
प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने ‘फोरम’ भएकाले त्यसैगरी भ्रमण हुने अपेक्षासहित परराष्ट्रको तयारी रहेको जानकारी गराए।
कुन तहको भ्रमण हुन्छ भन्ने कुरा भने मन्त्रिपरिषद्को निर्णयपछि मात्रै यकिन हुने उनको भनाइ थियो । महासभा आगामी सेप्टेम्बर १३ मा सुरु हुँदैछ।
नेपाल बहुपक्षीय कूटनीतिमा बढीभन्दा बढी सक्रिय सहभागी भई त्यसमा आफ्नो मुलुकको हितमा सख्त उपस्थिति देखाउने प्रयास जारी रहेको पनि उहाँले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता लम्सालले एउटा तहमा गृहकार्य गरिएको जानकारी दिँदै भने, ‘दुवै पक्षको अनुकूलता भएपछि मात्रै घोषण हुनेछ।’











