टिमकाे खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा
राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेनमा दासानायकेले यो आफ्नो करिअरकै सबैभन्दा कठिन निर्णय भएको बताए ।
काठमाडौं, साउन ४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन्। नेपाली टिमले अमेरिकार र स्कटल्यान्ड भ्रमणमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि दासानायकेले राजीनामा दिएका हुन्।
बुधबार राजीनामाकाे घाेषणा गर्दै उनले एक साताअघि नै इमेलबाट राजीनामा पत्र क्यानलाई पठाएकाे बताएका छन्। उनी गत मंसिरमा दुई वर्षका लागि राष्ट्रिय टिमकाे मुख्य प्रशिक्षक बनेका थिए।
दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकाे क्यानले जनाएकाे छ। उनी पहिलोपटक सन् २०११ देखि २०१५ सम्म राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए।
पुबुदुले प्रशिक्षण सम्हालिरहँदा नेपाललेआईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।
राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेनमा दासानायकेले यो आफ्नो करिअरकै सबैभन्दा कठिन निर्णय भएको बताए । ‘यो निर्णय अहिलेसम्म कै कठिन हो,’ उनले भने– ‘व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । अहिले निर्णय गरिनँ भने पछि पछुताउनुपर्ने अवस्था आउँथ्यो।’ यता, क्यानका क्रिकेट म्यानेजर विनोद दासले प्रशिक्षक दासानायकेलाई अहिलेसम्मको सहयोगका लागि धन्यवाद दिएका छन् ।
विश्वकप क्रिकेट लिग २ खेलिरहेको नेपाल एक दिवसीय मान्यता जोगाउन नसक्ने अवस्थामा पुगेपछि दासानायके दबाबमा थिए। पछिल्लो समय नेपाली टिम खराब लयमा छ। नेपाली टिमले अमेरिका, क्यानडा र स्कटल्यान्डमा विर्सनलायक प्रदर्शन गरेको थियो ।
अमेरिकामा नेपालले ओमानसँग एक खेल जितेको थियो भने अमेरिकासँग एउटा खेल टाइ भएको थियो। बाँकी दुई खेलमा नेपाल पराजित भएको थियो। त्यसपछि क्यानडासँगको एउटा एक दिवसीयमा पनि नेपाल पराजित भएको थियो।
क्यानडाबाट लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड गएको नेपालको लक्ष्य कम्तीमा तीन खेल जितेर लिगको पाँचौँ स्थान बलियो बनाउने थियो। तर, तीन खेलमा हारेर नेपाल छैटौँ स्थानमा नै यथावत् रहेपछि ओडीआई मान्यता जोगाउन मुस्किल बनेको छ।











