Kathmandu Press

पोखरामा निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

पोखरा, साउन ३ : कास्कीको पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ।देशकै पर्यटकीय शहर पोखराको...
पोखरामा निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

पोखरा, साउन ३ : कास्कीको पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ।

देशकै पर्यटकीय शहर पोखराको मुख्य शहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ।

सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएवापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवासुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ। शहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताए।

उनका अनुसार त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउनेछ।

सार्वजनिक शौचालयबारे सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचानयुक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ। शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिनेछ।

पोखराका मुख्य शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ। महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएकाले काम अघि नबढेको जनाएको छ।

प्रकाशित मिति: ०७:४७ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्