Kathmandu Press

अफताव आलम प्रकरणबारे कांग्रेसले भन्यो- कानून बमोजिम हुने कुरामा समर्थन छ

काठमाडौं, मंसिर ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुर्पक्षका लागि कारागार चलान भएका निलम्बित सांसद मोहम्मद अफताव आलम प्रकरणमा कानून अनुस....

अफताव आलम प्रकरणबारे कांग्रेसले भन्यो- कानून बमोजिम हुने कुरामा समर्थन छ
फाइल

काठमाडौं, मंसिर ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुर्पक्षका लागि कारागार चलान भएका निलम्बित सांसद मोहम्मद अफताव आलम प्रकरणमा कानून अनुसार हुने कुरामा समर्थन रहने प्रष्ट पारेको छ। 

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून अनुसार हुने कुरा पार्टीलाई मान्य भएको प्रष्ट पारेका हुन्। 

आलम पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन रौतहटमा बम विष्फोटमा घाइते भएकाहरुलाई ज्यूँदै इँट्टाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन्। आलम जेल चलान हुँदा पनि किन पार्टीले कारबाही नगरेको भन्ने प्रश्नमा प्रवक्ता शर्माले कानूनको पालनाका विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताए। 

‘कानूनबमोजिम हुने कुरालाई हाम्रो समर्थन रहन्छ,’ प्रवक्ता शर्माले भने। उनले कांग्रेस लगायत दल मिलेर फौजदारी अभियोग लागेमा निलम्बन हुने र ६ वर्ष चुनाव लड्न नपाउने कानून बनाएकाले यस्ता घटनामा कानून अनुसार हुने कुरा मान्य हुने प्रष्ट पारे।
 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, मंसिर ३, २०७६