लिग टु क्रिकेट : स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित
काठमाडाैं, साउन १ : आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ। खराब ब्याटिङ प्रदर्शनकाे कारण नेपाल...
काठमाडाैं, साउन १ : आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ। खराब ब्याटिङ प्रदर्शनकाे कारण नेपाल पराजित हुन पुगेकाे हाे।
नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्याे।
स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए। २९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे। कोएत्जरले अविजित ४४ रन जोडे।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।
त्यसअघि ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए।
नेपालको लागि कप्तान सन्दीप लामिछानेले दशौँ नम्बरमा ब्याटिङ गर्दा २२ रन बनाए। विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन बनाएर आउट भए।
स्कटल्याण्डका लागि हम्जा ताहिरले ४, मार्क वाटले ३, गेभिन मेइनले २ तथा क्रिस्टोफर म्याब्रिजले १ विकेट लिए। यस शृंखलामा तीन खेल जितेको स्कटल्याण्डले २४ खेलबाट ३४ अंक जोड्दै दोस्रो स्थानमा छ।
तीन हार बेहोरेको नेपाल भने २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ। शृंखलाअघि नेपला भन्दा पछि रहेको नामिबियाले नेपाललाई दुवै खेलमा हराउँदै १८ खेलबाट १८ अंक जोडेर नेपाललाई पछि पारेको छ।










-1786867986.jpg)
