Kathmandu Press

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

काठमाडौं, मंसिर ३ : विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय सम....

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

काठमाडौं, मंसिर ३ : विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन्।

समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको समिति सदस्य एवं गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले बताए।

संस्कृति मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले हाल बौद्ध घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद सार्वजनिक भएको हो। चिनियाँ लामाको नागरिकतालगायत विषयमा विवाद उठेको छ।

विवादपछि बौद्धनाथ क्षेत्र विकास समितिलगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो।

चिनियाँ लामाको विरोधमा सङ्घर्ष समितिसमेत गठन गरिएको थियो। खड्गजीत लामाको संयोजकत्वमा दशैँअघि सङ्घर्ष समिति बनाई विरोध भएको थियो। विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाइएको थियो।

यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि बौद्धको चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो। समितिले प्रतिवेदन दिन नसकेपछि अर्को समिति गठन गरिएको हो।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, मंसिर ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्