नेपाली विद्यार्थीको रोजाइ अमेरिका, १३ हजारभन्दा बढी अध्ययनरत
काठमाडौं, मंसिर ३ : नेपाली विद्यार्थीको रोजाइ अमेरिका हुने गरेको पाइएको छ। यो वर्ष १३ हजारभन्दा बढी विद्यार्थी अमेरिकी कलेज तथा विश्वाविद्यालयमा अध्यय....

काठमाडौं, मंसिर ३ : नेपाली विद्यार्थीको रोजाइ अमेरिका हुने गरेको पाइएको छ। यो वर्ष १३ हजारभन्दा बढी विद्यार्थी अमेरिकी कलेज तथा विश्वाविद्यालयमा अध्ययनरत रहेको तथ्यांक सार्वजनिक भएको छ।
इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोले सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान तथ्याङ्कसम्बन्धी ओपन डोओर्स रिपोर्ट सोमबार सार्वजनिक गरेको छ। अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या बलियो रहेको र विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको रोजाइमा अमेरिका परिरहेको प्रतिवेदनले जनाएको छ।
स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल १२औँ स्थानमा छ। ती तहमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या १३ हजार दुई सय २९ रहेको छ।
गत वर्षको तुलनामा नेपाली विद्यार्थीको सङ्ख्यामा केही घटेपनि स्नातक तहमा अध्ययन गर्ने र ऐच्छिक व्यावहारिक तालिम रोज्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ। प्रतिवेदनका अनुसार शैक्षिक वर्ष सन् २०१८–१९ मा १० लाख ९० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा भर्ना भएका छन्, जुन हालसम्मकै सबैभन्दा बढी हुन्।
‘विदेशका विद्यार्थी अमेरिका पढ्न आउने र अमेरिकी विद्यार्थी पनि पढाइका लागि विदेश जाने क्रमको वृद्धिमा निरन्तरता देख्दा हामीलाई खुशी लागेको छ,’ शैक्षिक तथा सांस्कृतिक मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री मेरी रोयसले भनिन्, ‘अन्तर्राष्ट्रिय विद्यार्थीको आदानप्रदान प्रवर्द्धन शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोको उच्च प्राथमिकतामा रहेको छ र भविष्यमा पनि बढीभन्दा बढी विद्यार्थीले उच्चशिक्षा हासिल गर्नका लागि अमेरिकालाई उत्कृष्ट गन्तव्यका रूपमा हेरून् भन्ने हामी चाहन्छौँ।’
रोयलले भनिन्, ‘अन्तर्राष्ट्रिय आदानप्रदानले हाम्रा कलेज तथा विश्वविद्यालयलाई सबै विद्यार्थीका लागि अझै गतिशील बनाउँछ र अमेरिकामा हासिल गरेको उच्चशिक्षाले अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनमा ठीक त्यसै गरी रूपान्तरण ल्याउन सक्छ जसरी विदेशमा अध्ययन गरेको अनुभवले अमेरिकी विद्यार्थीको जीवनमा रूपान्तरण ल्याउँछ।’
अन्तर्राष्ट्रिय शैक्षिक सप्ताहको अवसर पारेर समेत ओपन डोओर्स रिपोर्ट सार्वजनिक गरिएको हो। भावी पुस्ताका अगुवालाई अध्ययन, सिकाइ तथा अनुभव आदानप्रदानका लागि अमेरिकामा आकर्षित गर्ने गरी मंसिर २ देखि ६ गतेसम्म अमेरिकी विदेश मन्त्रालय र अमेरिकी शिक्षा मन्त्रालयको संयुक्त पहलमा साताव्यापी शैक्षिक कार्यक्रम तर्जुमा गरिरहेको छ।
सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक साताको समर्थनमा यस हप्ता अमेरिकी दूतावासले आफ्ना साझेदार संस्था, नेपालस्थित अमेरिकी शैक्षिक प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र अमेरिकन सेन्टरसँग सहकार्य गर्दै शृङ्लाबद्ध रूपमा कार्यक्रमहरू आयोजना गर्नेछ।
यस्ता कार्यक्रमहरूमा ‘गेट इन्सपायर्ड’ (प्रेरिरत होऔँ) विषयक क्रियाकलाप, उच्चशिक्षा प्रशासक कार्यशाला गोष्ठी, अमेरिकी विश्वविद्यालयबाट अध्ययन पुरा गरी फर्किएका नेपाली पूर्वविद्यार्थीको प्रस्तुति, अध्ययन भिसासम्बन्धी प्रस्तुति, वेबिनार र अनलाइन कलेज फेयर लगायत हुनेछन्।
नेपाली विद्यार्थीका लागि अमेरिकी उच्चशिक्षा र आदानप्रदानका अवसरलाई प्रवर्द्धन गर्ने साताव्यापी क्रियाकलापहरूको समापन शैक्षिक मेलाबाट गरिने जनाएको छ।











