Kathmandu Press

मन्त्रिमण्डल फेरबदलमा प्रचण्डलाई जोडेर अनर्गल र भ्रामक प्रचार भयो : प्रचण्डको सचिवालय

काठमाडौं, मंसिर ३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले मन्त्रिमण्डल फेरबदलसँग प्रचण्डलाई जोडेर अनर्गल र भ्रामक प्रचार....

मन्त्रिमण्डल फेरबदलमा प्रचण्डलाई जोडेर अनर्गल र भ्रामक प्रचार भयो : प्रचण्डको सचिवालय

काठमाडौं, मंसिर ३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले मन्त्रिमण्डल फेरबदलसँग प्रचण्डलाई जोडेर अनर्गल र भ्रामक प्रचार भएको जनाएको छ।

मंगलबार निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गरी मन्त्रिमण्डल फेरबदलसँग प्रचण्डलाई जोड्ने गलत भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न संचारमाध्यममा प्रचारिस/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भ्रत्सना र खण्डन गर्दछ।’

प्रचण्डलको सचिवालयले मन्त्रिमण्डल फेरबदल गर्नु प्रधानमन्त्रीको क्षेत्राधिकार भएको उल्लेख गर्दै यसमा प्रचण्डको कुनै भूमिका नभएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ। पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।’

केही दिनयता मन्त्रीहरुको फेरबदल हुने समाचार आइरहेका छन्। यसमा प्रचण्डले पुराना मन्त्री हटाउन र नयाँ थप्न जोड दिएको विषय समाचारमा आएपछि उनको निजी सचिवालयले खण्डन गरेको हो।

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, मंसिर ३, २०७६