सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड
काठमाडौं, असार ३२ : भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि,...
काठमाडौं, असार ३२ : भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।
फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले आज (शनिबार) नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले उल्लिखित समस्या असल छिमेकीको भावनाबाट समाधान गर्न सकिनेमा जोड दिए।
प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको बताउँदे त्यसमा कुनै समस्या आए कूटनीतिक संवाददका माध्यमबाट समाधान गर्न सकिने बताए।
नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा गठन गरिएको प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म नेपाल र भारत दुवैतर्फको सरकारले बुझेका छैनन्।
नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारत सरकारसँग आग्रह गर्दै उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको हुँदा त्यसमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने अवसर रहेको जानकारी पनि दिए।
सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। उनी आइतबार नै स्वदेश फर्किनेछन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

