जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ नेताकार्यकर्ताले दिए राजीनामा
काठमाडाैं, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) को विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ।जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगन्जमा केन्द्रीय समितिको बैठक राखेर...
काठमाडाैं, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) को विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगन्जमा केन्द्रीय समितिको बैठक राखेर नौजनालाई कारबाहीको दण्डा चलाउँदा काठमाडौंमा छुट्टै बैठक राखेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षधरले नयाँ पार्टी खोल्ने अभ्यास गरिरहेको छ।
यसको असर केन्द्रीय सदस्य तथा जिल्लाजिल्लाका नेताकार्यकर्ताहरुमा देखिने थालेको छ। यस्तै खालको असर पर्सामा पनि देखिएको छ। त्यहाँका दुई केन्द्रीय सदस्यसहित ६९ नेताकार्यकर्ताले पार्टीमा रहिरहन नसक्ने भन्दै सामूहिक राजीनामा दिएका छन्।
पर्सा–४ का केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेताकार्यकर्ताले आज (शनिबार) वीरगन्जमा पत्रकार सम्मेलन गरेर साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।
उनीहरूले पार्टीमा स्वेच्छाचारिता बढेको, एकलौटी ढंगबाट पार्टी सञ्चालन गरिएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाएका छन्। जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पुँजी हुनेहरूको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य वीरेन्द्र यादवले पार्टीमा नियत राम्रो नभएका व्यक्तिहरू हाबी हुँदै गएको र पार्टीका अरू नेता, कार्यकर्तालाई बेवास्ता गर्दै गएकाले राजीनामा दिनुपरेको जिकिर गरे।
पार्टीलाई एकताबद्ध राख्न र विभाजनबाट जोगाउन आफूहरू लागिपरेको तर केही व्यक्तिका कारण पार्टी कमजोर बन्दै गएको र फुटको सँघारमा पुगेको गर्दै केन्द्रीय सदस्य टेकबहादुर शाक्यले बताए।












![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

