जिम्बाबे र नेदरल्यान्ड्स टि–२० विश्वकपमा

काठमाडाैं, असार ३१ : टेस्ट राष्ट्र जिम्बाबे र एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपमा स्थान पक्का गरेका छन्। टि–२० विश्वकपको ग्लोबल छनोटको समूह बीको फाइनलमा स्थान बनाएसँगै दुवैले विश्वकपमा स्थान पक्का गरेका हुन्।
ग्लोबल छनोटको फाइनल पुग्ने क्रममा सेमिफाइनलमा जिम्बाबेले पपुवा न्युगिनीमाथि २७ रनले हराउँदा नेदरल्यान्ड्सले अमेरिकामाथि ७ विकेटको सहज जित निकाल्यो। जिम्बाबे समूह ए र नेदरल्यान्ड्स समूह बीको विजेताको रुपमा सेमिफाइलन पुगेका हुन्। दुवै सतप्रतिशत जितसहित फाइनल पुगेका हुन्।
जिम्बाबे र नेरदरल्यान्डबीचको फाइनलको विजेता समूह चरणको समूह बीमा हुनेछ भने उपविजेता समूह एमा रहने छ। समूह एमा नामिबिया, श्रीलंका र युएई छन् भने समूह बीचमा आयरल्यान्ड, स्कटल्यान्ड र वेस्टइन्डिज छन्।
दुवै समूहका शीर्ष २ टिमले टि–२० विश्वकपको सुपर १२मा स्थापन बनाउने छन्। समूह एको विजेता र बीको उपविजेता सुपर १२को ग्रुप १ मा र सूमह ए उपविजेता र बीको विजेता ग्रुप २मा रहनेछन्।
सुपर १२को ग्रुप १ मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्ड छन् भने ग्रुप २ मा बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिका छन्











