पुष्पा भुसाल : प्राध्यापन र वकालतदेखि उपसभामुखसम्म
भुसाल नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्। उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। उनी कांग्रेस संसदीय दलकी सचेतक पनि रहँदै आएकी थिइन्।
काठमाडाैं, असार ३१ : कांग्रेस नेत्री पुष्पा भुसाल प्रतिनिधिसभाकाे उपसभामुखमा चयन भएकी छन्।
उपसभामुखमा चयनका लागि आज (शुक्रबार) भएकाे निर्वाचनमा उनी १४८ मत ल्याई उपसभामुखमा विजयी भएकी हुन्।
भुसाल नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्। उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। उनी कांग्रेस संसदीय दलकी सचेतक पनि रहँदै आएकी थिइन्।
२०१७ साल फागुन १ गते अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी भुसाल २०६४ सालमा अर्घाखाँची-२ बाट सांसदमा निर्वाचित भएकी थिइन्। २०५६ सालको संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएकी थिइन्।
६१ वर्षीया भुसालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै त्यति नै अवधिसम्म वकालत पेसामा आबद्ध रहिसकेकी छन्।
कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन भुसाल नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य भइसकेकी छन्।
उनको परिवार राजनीतिक पृष्ठमूमिसँग जाेडिएकाे थियाे। भुसालका बाबु काशीनाथ गौतम २०१५ सालमा बिपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थिए।
२०१७ सालमा निर्वाचित सरकार अपदस्त गरी पञ्चायती व्यवस्था सुरु भएपछि १४ वर्ष भुसाल परिवार भारत निर्वासित भएको थियो। सो क्रममा भुसाल पनि सँगै थिइन्। भुसालले २०२८ सालपछि राजनीतिमा लागेकी हुन्।
उनले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरेसकेकी छन्। संविधान निर्माणमा संविधान मस्यौदा समितिमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
२०७४ सालमा भएको उपसभामुखको निर्वाचनमा भुसाल एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्। त्यतिबेला तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा उनले ५८ मत ल्याएकी थिइन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

