Kathmandu Press

उपसभामुखमा कांग्रेस नेत्री भुसाल

उपसभामुखमा चयनका लागि आज (शुक्रबार) भएकाे निर्वाचनमा उनी १४८ मत ल्याई उपसभामुखमा विजयी भएकी हुन्।
उपसभामुखमा कांग्रेस नेत्री भुसाल

काठमाडौं, असार ३१ : कांग्रेस नेत्री पुष्पा भुसाल प्रतिनिधिसभाकाे उपसभामुखमा चयन भएकी छन्।

उपसभामुखमा चयनका लागि आज (शुक्रबार) भएकाे निर्वाचनमा उनी १४८ मत ल्याई विजयी भएकी हुन्।

उनी पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रही प्रमुख विपक्षी एमालेकी उम्मेदवार विद्या भट्टराईलाई ५५ मतले पराजित गरी उपसभामुख बनेकी हुन्।

भुसाल (पक्ष) ले १४८ मत ल्याउँदा भट्टराई (विपक्ष) ले ९३ मत ल्याइन्। तटस्थमा १ मत खसेको थियो। निर्वाचनमा जम्मा २४२ मत खसेकाे थियाे। 

कुल सांसद संख्या २७५ भए पनि चारजना निलम्बित र चारजना पदमुक्त भएका छन्। २४ सांसद भने अनुपस्थित थिए।

उनलाई आफ्नै दल कांग्रेससहित सत्तारूढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले समर्थन गरेका थिए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भुसालकै पक्षमा मत दिएको थियो। तटस्थ बसेको पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिएको थियो।

साढे दुई वर्षकाे अन्तरालपछि आज (शुक्रबार) प्रतिनिधिसभाले उपसभामुख पाएको हाे।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज  भुसाल विजयी भएकी हुन्।

२०७४ सालमा भएको उपसभामुखको निर्वाचनमा भुसाल तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्। त्यतिबेला तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा उनले ५८ मत ल्याएकी थिइन्।

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्