सरकारको एक वर्ष बर्बादीमै बितेकाे एमालेको आरोप
काठमाडाैं, असार ३१ : नेकपा एमालेले सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको छ।एमालेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार...
काठमाडाैं, असार ३१ : नेकपा एमालेले सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको छ।
एमालेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको हो।
संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेले जनाएको छ।
संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले कुनै काम गर्न नसकेको एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले बताए।
उनले कमजोर व्यवस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी कोरोना खोपको मिति सकिएर फालिएको र अर्को २० लाख खोप खेर जाने अवस्थामा रहेको आरोप लगाए।
सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको र बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून रहेको भट्टराईले बताए। उनले निजामती, सुरक्षा अंग र शैक्षिक क्षेत्र लगायत सबै औपचारिक क्षेत्रलाई बीमाको दायरामा ल्याउने बीमा ऐन, २०७४ को अवधारणा कार्यान्वयनमा सरकार असफल भएको तर्क गरे।
त्यस्तै एमालेले शहीद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्रमा व्यक्ति केन्द्रित गरी गठन आदेश संशोधन गरिएको र यस्ता कार्यले संस्थागत विकासमा दीर्घकालीन असर गर्ने निश्चित रहेको जनाएको छ।
आम महिलाहरुले प्रयोगमा ल्याउने सेनिटरी प्याडका सन्दर्भमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी पारेको र यसले सरकारी नेतृत्व नीतिगत भ्रष्टाचारमा संलग्न भएको ज्वलन्त प्रमाणित भएको एमालेले जनाएको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

