Kathmandu Press

पार्टी फुटाउने प्रयास गरेकाले भट्टराईसहित नाै नेतालाई कारबाही : यादव

काठमाडाैं, असार ३१ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरुले पार्टी फुटाउने प्रयास...
पार्टी फुटाउने प्रयास गरेकाले भट्टराईसहित नाै नेतालाई कारबाही : यादव

काठमाडाैं, असार ३१ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन्।

आज (शुक्रबार) वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनले भट्टराईलगायत नौजना नेताले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको जानकारी दिएका हुन्। 

जसपाको बिहीबार बसेको बैठकले पार्टीको हितविपरीत काम गरेको, पार्टीको सिद्धान्त विपरीत अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको आरोप लगाउँदै डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भक्तबहादुर शाहलगायत नौजना नेतालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको उनले बताए। 

‘नयाँ पार्टी स्थापना गर्ने निर्णयसमेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा समालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,’ उनले भने, ‘पदमुक्त भएसँगै उहाँहरूलाई अन्य सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ।’

जसपा विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौंमा केन्द्रीय समितिको छुट्टै बैठक राखेका थिए। सो बैठकले नयाँ पार्टी खोलेर जाने निर्णय गरेको छ।

दुवै पक्ष यस किसिमको निर्णय गरेसँगै जसपा औपचारिक रूपमै विभाजन सँघारमा पुगेको छ।

अध्यक्ष यादवले सरकारले संसदमा पेस गरेको नागरिकतासम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न पाँचदलीय सत्तारूढ गठबन्धनमा समझदारी बनेको पनि जानकारी दिए। 

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्