पूजा बोहोरा बलात्कार प्रकरण : दुवै अभियुक्तलाई साढे ११ वर्ष जेल सजाय
काठमाडौं, मंसिर २ : सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई अभियुक्तलाई साढे ११ वर्षको जेल सजायको फैसला सुनाएको छ।
....
काठमाडौं, मंसिर २ : सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई अभियुक्तलाई साढे ११ वर्षको जेल सजायको फैसला सुनाएको छ।
पुनरावेदन अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्चले बोहोरालाई बलातकार गर्ने सागर भट्ट र अम्मरराज अवस्थीलाई जनही साढे ११ वर्षको जेल सजायको फैसला सुनाएको हो।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयालको इजलासले सोमबार बलात्कारमा संलग्न भट्ट र अवस्थीलाई सजाय निर्धारणको फैसला सुनाएको हो। सर्वोच्चले पीडित बोहोरालाई दुवै पीडकबाट १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ।
यसअघि गत कात्तिक ७ गने सर्वोच्चले पूजालाई बलात्कार गर्ने अभियुक्तहरु भट्ट र अवस्थीलाई दोषी ठहर गरेको थियो।
बोहोरालाई गत २०६८ चैत ७ गते भट्ट र अवस्थीले नसालु इन्जेक्सन लगाएर सामूहिक बलात्कार गरेका थिए। लामो अनुसन्धानपछि अभियुक्तहरुले जबरजस्ती करणी गरेको स्वीकार गरेका थिए।
गत २०६९ फागुन २२ गते नै बलात्कार मुद्दामाथि सुनुवाइ गर्दै बैतडी जिल्ला हिमालयराज पाठकको इजलासले भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
तर, पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले गत २०७१ बैशाख १५ गते जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो।
त्यसपछि पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले गत २०७१ पुस २ गते सर्वाेच्चमा पुनरावेदन दर्ता गरेको थियो।






