नेपाली फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग
काठमाडौं, असार ३० : वर्तमान फुटबल संरचनाले नेपाली फुटबलको विकास सम्भव नभएको भन्दै यसको पुनर्संरचना गर्न खेलाडी संघले माग गरेको छ । एन्फालाई...
काठमाडौं, असार ३० : वर्तमान फुटबल संरचनाले नेपाली फुटबलको विकास सम्भव नभएको भन्दै यसको पुनर्संरचना गर्न खेलाडी संघले माग गरेको छ । एन्फालाई ५ बुँदे ध्यानकर्षण पत्र बुझाउँदै संघले नेपाली फुटबलको पुनर्संरचना गर्न माग गरेको हो ।
नेपाली फुटबलको अहिलेको संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएका भन्दै संघले घरेलु फुटबलको संरचना परिवर्तन गर्दै नयाँ खाका तयार गर्न एन्फा नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानार्षण पत्र बुझाउँदै खेलाडी संघले फुटबल पुनर्संरचनासँगै खेलाडीलाई वर्षभरि व्यस्त राख्ने गरी एन्फाको क्यालेन्डर व्यवस्थित गर्न पनि माग गरेको छ । यस्तै, खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्न पनि संघले एन्फाको ध्यानाकर्षण गराएको छ ।
यसैगरी संघले खेलाडी प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठित छानविन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा कार्य अघि बढाउन पनि एन्फा समक्ष अनुरोध गरेको छ। उसले खेलाडीको योगदानको अवमूल्यन गर्दै भइरहेका गतिविधि र कार्य सन्तोषजनक नभएको विषयमा एन्फाको ध्यानाकर्षण गराएको छ।
संघले खेलाडीलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहित बनाएको भन्दै खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको स्वागत पनि गरेको छ।
पछिल्लो समय अवसरको खोजीमा राष्ट्रिय टिमकै खेलाडीहरुले विदेसिन क्रम बढेको प्रति चिन्ता व्यक्त गर्दै खेलाडी संघले सो क्रमलाई रोक्न यथाशीघ्र क्लब फुटबलका कार्यक्रमलाई सार्वजनीक गर्न एन्फासँग आग्रह गरेको छ। एन्फाको नयाँ नेतृत्वसँग हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास खेलाडी संघले व्यक्त गरेको छ ।











