Kathmandu Press

भारतले मिचेको नेपाली भू-भाग फिर्ता ल्याएरै छोड्छाैँ :  खनाल

भक्तपुर, मंसिर २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने....

भारतले मिचेको नेपाली भू-भाग फिर्ता ल्याएरै छोड्छाैँ :  खनाल
फाइल

भक्तपुर, मंसिर २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन्।

चाँगुनारायणमा सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताए। मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेकपाले डिपी ढकलालाई उम्मेदवार बनाएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले २१औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि देशको सीमाना अङ्कित हुन नसक्नु विगतका सरकारको गल्ती भएको बताए।

‘आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ। सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्, अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ। नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ,’ उनले भने।

देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी विद्युतभार कटौती मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना अगाडि बढाएको उनको भनाइ छ।

‘नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ।  नेकपाको नेतृत्वको युग शुरु भएपछि उज्यालोको युग शुरु भएको छ,’उनले भने।
 

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, मंसिर २, २०७६