Kathmandu Press

लिग-२ मा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं, असार ३० : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले सहज जित हासिल गरेको छ।स्कटल्यान्डको ग्लास्गोस्थित...
लिग-२ मा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं, असार ३० : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले सहज जित हासिल गरेको छ।

स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै जित हात पारेको हो। नेपालले पहिलो पटक स्कटल्यान्डलाई हराएको हो। यसअघि एकदिवसीय र टी–२० दुवै खेलमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन।

जितका लागि १४५ रनको लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जीतमा आसिफ शेखले ७१ रन बताए।

यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल चार, दिपेन्द्र सिंह ऐरी तीन तथा आरिफ शेख एक रनमा बनाए। रोहित पौडेल ३४ रनमा अविजित रहे।

स्कटल्यान्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो। स्कटल्यान्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए।

त्यस्तै, मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे। कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

स्कटल्यान्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी र आदील आलमले उत्कृष्ट बलिङ गरे। सोमपाल र आदीलले समान तीन विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे। त्यस्तै करण केसी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

यस सिरिजमा नेपालको यो पहिलो जित हो। यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। यता स्कटल्यान्डको भने यो पहिलो हार हो। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो।

यस जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ। नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। २२ खेल खेलेको स्कटल्याण्ड भने ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।

अब नेपालले तेस्रो खेलमा नामिबियासँग शनिबार खेल्नेछ।

प्रकाशित मिति: ०६:५० बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्