Kathmandu Press

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि बन्छ : मन्त्री अधिकारी 

काठमाडौं, माघ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल आफ्नो सबैभन्दा बढी प्राथमिकताको....

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि बन्छ : मन्त्री अधिकारी 
फाईल फोटो

काठमाडौं, माघ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल आफ्नो सबैभन्दा बढी प्राथमिकताको विकास परियोजना भएको बताएका छन् । 
उक्त विमानस्थल राष्ट्रिय गौरवको आयोजनामात्र नभई नेपालको विकासको लागि ‘गेम चेन्जर’ नै भएकोले गम्भीर प्रकृतिका व्यवधान आएका भए पनि त्यसको निर्माण जसरी पनि गरिछाड्ने उनले दाबी गरेका छन् । 

काठमाडौंको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल र बन्दै गरेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निजगढ विमानस्थलको विकल्प बन्न नसक्ने उनले जिकिर गरे । शुक्रबार काठमाडौंको त्रिपुरेश्वरमा नेपाल इन्जिनियर्स एसोसिएशनद्वारा आयोजित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक पूर्वाधार विकास बहस कार्यक्रममा मन्त्री अधिकारीले यी धारणा व्यक्त गरेका हुन् । 

अधिकारीले भने, ‘भैरहवा र पोखरा विमानस्थलका काम धमाधम अगाडि बढेको भए पनि सबैभन्दा बढी  प्राथमिकताको निजगढ विमानस्थल निर्माण कार्यमा प्रगति हुन सकेको छैन’ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ जुनमा परिक्षण उडान गरेर सेप्टेम्बरबाट व्यवसायिक उडान थालिने लक्ष्य राखिएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२१ देखि व्यावसायिक उडान हुने अपेक्षा गरिएको जानकारी पनि मन्त्री अधिकारीले दिए । ‘नेपालको लागि अत्यन्त महत्वपूर्ण निजगढ विमानस्थल किन अगाडि बढ्न सकेको छैन भन्ने नेपालको सरकार र जनताका लागि गम्भीर प्रश्न हुन्’ अधिकारीले भने । वातावरणीय प्रभाव मुल्याकंन सकेर रुख काट्न खोज्दा चौतर्फी आक्रमण भएकाले निजगढ विमानस्थलको निर्माण द्रुत अगाडि बढ्न नसकेको अधिकारीले बताए ।

प्रकाशित मिति: २१:१७ बजे, शुक्रबार, माघ २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्