Kathmandu Press

विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल

दमाैली, असार २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन। तनहुँको...
विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल

दमाैली, असार २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन। तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गरे।

संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पुर्‍याउने बताए।'संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ,' पौडेलले भने।

उनले पाँचदलीय गठबन्धन कायमै रहने बताए। स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए। 'गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन,' उनले भने।

पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताए। 'जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौँ,' पौडेलले भने।

यसैबीच पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन। २०९औँ भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आज भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले यस ठाउँलाई साहित्यिक धामका रुपमा विकास गर्नुपर्ने बताए।

पूर्वमन्त्री श्रेष्ठले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताउँदै चुँदीरम्घालाई साहित्यिक धाम बनाएर पर्यटक आकर्षित गर्नुपर्ने उल्लेख गरे। भानु जन्मस्थल विकास समितिलाई कहिले स्थानीय सरकारमातहत राख्ने र कहिले नेतृत्वविहीन हुँदा काममा ढिलाइ भएको बताउँदै पूर्वमन्त्री श्रेष्ठले भने, 'समितिलाई अहिले पुनः सङ्घीय सरकार मातहत ल्याउन सकिएको छ, अब यसको विकासका लागि ढिलाइ नगरौँ। सबै एकजुट भएर लागौँ।'

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भानुभक्तलाई वर्षको एक दिन मात्र नभई सधैँभर सम्झिनुपर्ने बताए। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठलगायतले भानु जन्मस्थलको विकासका बारेमा धारणा राखेका थिए।

भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगिताका विजेतालाई सोही अवसरमा पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका छन। त्यस्तै पर्वतका तारानाथ पराजुली द्वितीय, पर्वतकै लक्ष्मीदेव गौडेल तृतीय, अछामका मीनप्रसाद पाण्डे र मोरङका केशव भण्डारी सान्त्वना भएका छन।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, १० हजार र सान्त्वना हुने दुई जनालाई जनही पाँच हजार प्रदान गरिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए।

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्