उपसभामुख कांग्रेसले पाउने भए पनि व्यक्ति टुंगाे लाग्न बाँकी छ : मीन विश्वकर्मा
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रिक्त रहेको उपसभामुख पद कांग्रेसले पाउने दाबी गरेका छन्।केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी...
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रिक्त रहेको उपसभामुख पद कांग्रेसले पाउने दाबी गरेका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै गठबन्धनबाट एक जना मात्रै उम्मेदवार बन्ने र त्यसमा कांग्रेसको हक लाग्ने बताएका हुन्। कांग्रेसले कसलाई पठाउने भनेर टुंगो लाग्न बाँकी रहेको उनको भनाइ थियो।
‘गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुँदैन। को हुने भनेर निष्कर्ष निस्किसकेको छैन। तर गठबन्धनबाट नै सभामुख बन्ने हो,’ उनले भने, ‘स्वाभाविक रुपमा कांग्रेस हकदार हो। कांग्रेसले प्रस्ताव गरिसकेपछि अरु दलको पनि सहमति चाहिने भएकाले केही कुरामा टुंगोमा पुग्न बाँकी छ।’
यतिखेर कांग्रेसबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल हुने भनेर व्यापक चर्चा भइरहेका बेला व्यक्तिको नाम निश्चित भइनसकेको उनले बताए।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहँदै आएको थियो।
त्यसपछि एउटै दलले सभामुख र उपसभामुख नपाउने भएपछि तत्कालीन नेकपाले उपसभामुख निर्वाचनलाई बेवास्ता गर्दै आएको थियो।
नेकपाले उपसभामुखको निर्वाचनलाई बेवास्ता गरेको भन्दै कांग्रेस सचेतक भुसाललगायतले प्रतिनिधिसभा बैठकमा यो विषय उठाउँदै आएका थिए।
यही असार ३१ गते उपसभामुखका लागि निर्वाचन हुँदैछ। त्यसका लागि आज (बुधबार) कार्यतालिका सार्वजनिक भएको छ।
सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।अहिले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रबाट निर्वाचित भएको हुँदा अब फरक दलबाट महिलाले उपुभामुख बन्नुपर्ने हुन्छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

