प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित
काठमाडाैं, असार २९ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ।ती विधेयकमा औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा...
काठमाडाैं, असार २९ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ।
ती विधेयकमा औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी विधेयक छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधी ९तेस्रो संशोधन० विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो।
विधेयकको सैद्धान्तिक छलफलमा सांसद योगेशकुमार भट्टराई, पुष्पा भुसाल गौतम र विमला विकले भाग लिएका थिए।
यसैगरी स्वास्थ्यमन्त्री खापुङले ‘स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो।
उक्त विधेयक उपरको छलफलमा सांसद कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, नारायणप्रसाद खतिवडा, पुष्पा भुसाल गौतम र घनश्याम खतिवडा लगायतले भाग लिएका थिए।
दुवै छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री खापुङले विधेयकलाई संविधानले दिएको समयसीमाभित्र रही दुवै विधेयक सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणित गर्नुपर्ने भएकाले विधेयकका सम्बन्धमा पेस भएका संशोधन प्रस्ताव फिर्ता लिन अनुरोध गरे।
यसअघि सांसद प्रेम सुवालले दुवै विधेयक माथि पेस गर्नुभएको संशोधनको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो। यसैगरी बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गर्नुभएको ती विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि सम्बधित समितिमा पठाइने भएको हो। प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो ३ बजे बस्नेछ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

