आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन मन्त्री बडूकाे आग्रह

काठमाडाैं, असार २९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
नेपाल निर्यात व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निर्यात प्रवर्धनका लागि राजदूत एवं व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका हुन्।
'मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,' उनले भने। आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सके मात्र नेपालको व्यापार घाटा कम हुने उनको भनाइ छ।
उद्योगमन्त्री बडूले निर्यात प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरे। राष्ट्रिय उत्पादन बढाएर निर्यात प्रवर्धनमा सरकार सधैँ निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ। उनले निर्यात क्षेत्रलाई बढावा दिन सरकारले व्यवसायलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गरेको बताए। मन्त्री बडुले नेपालमा उत्पादित वस्तुलाई प्रवर्धन गर्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई विदेशमा सजिलै निर्यात गर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहेको बताए। 'निर्यात प्रवद्र्धनका लागि राजदूतसँगको अन्तरक्रियाले सहयोग पुग्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ,' उनले भने।
उनले विदेशमा रहेका नेपालका ४० कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रालयले ६/६ महिनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।
उहाँले नेपालको निर्यात प्रवद्र्धनका लागि अर्थ, परराष्ट्र, उद्योग, कृषि, वन मन्त्रालयका प्रतिनिधि र व्यवसायी सम्मिलित स्थायी संयन्त्र बनाउनुपर्ने, स्वदेशी कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने, निर्यात व्यवसाय सञ्चालनका लागि पूर्वाधारमा निःशुल्क वा ५० प्रतिशत लगानी गरी सरकारी तथा निजी साझेदारीमा निर्यात प्रवद्र्धनका लागि संयुक्त रणनीति बढाउन सरकारलाई आग्रह गर्नुभयो।
अध्यक्ष गुरुङले नेपाली निर्यातकर्तालाई परेको समस्या समाधानका लागि राजदूतको भूमिका ठूलो रहेको बताउँदै नेपाली वस्तुको निर्यातमा सघाउ पुग्ने खालको व्यवसायी सम्झौताका लागि सहयोग गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो। उहाँले निर्यातजन्य वस्तुको अनुसन्धान तथा विकासका साथै निर्यातको उच्च सम्भाव्यता अध्ययन रहेका वस्तुको प्रवद्र्धनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
महासङ्घका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा रु १३ खर्ब आठ अर्बको वस्तु आयत गर्दा निर्यात भने रु एक खर्ब ४१ अर्बमा सीमित भएको छ। सोही अवसरमा उपस्थित राजदूतले भने नेपालको निर्यात व्यवसायलाई प्रवद्र्धन गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

