Kathmandu Press

न्यायिक निकायबीच समन्वय हुनुपर्छ : महान्यायधिवक्ता खाती

काठमाडाैं, असार २९ : महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन्।जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले...
न्यायिक निकायबीच समन्वय हुनुपर्छ : महान्यायधिवक्ता खाती

काठमाडाैं, असार २९ : महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले  न्यायिक कार्यालयबीच एकअर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन्।

सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उनको भनाइ थियो। अहिले न्यायालयप्रति जनताको आस्था कमजाेर बन्दै गएकाले यसलाई जोगाउन लाग्नुपर्ने उनले बताए।

पीडितले न्याय माग्न आए इन्कार गर्न नहुने उनले बताए। अनुसन्धान फितलो हुँदा अभियोजनमा असर पर्ने भन्दै खातीले यसले न्यायमा समेत असर पर्ने बताए।

जनशक्तिको अभावका कारण छिटोछरितो न्याय दिन नसकिएको उनको भनाइ छ। उनले अहिलेको समयमा एक न्यायधीश बराबर दुई जना सरकारी वकिल आवश्यक रहेको बताए।

सो अवसरमा नायब महान्यायधिवक्ता कृष्णजीवी घिमिरेले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनका लागि गृहकार्य सुरु गरिएको बताए। उनले भने, 'अहिले जनशक्ति अभाव छ, यसलाई चाँडै नै पूरा गर्ने तयारीमा लागेका छौं।'

जिल्ला न्यायाधीश हेमन्त रावलले अहिले न्याय निरुपणका क्रममा प्रतिकूल वकपत्र समस्याको रुपमा रहेको बताए। पीडित असुरक्षित हुँदा प्रतिकूल वकपत्र आउने गरेको उनले बताए। पीडित र आवश्यक प्रमाणको संरक्षण गरी न्याय क्षेत्रमा लाग्नुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा महान्यायधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उच्च अदालत हेटौंडाका सहन्यायधिवक्ता सन्देश श्रेष्ठ, सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता महेश खत्री, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारीलगायतले बोलेको थियो।

२०७६ माघ १४ गते शिलान्यास गरिएको सो कार्यालय भवनको आज उद्घाटन गरिएको हो। भरतपुर महानगरपालिका-१० मा १० कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरिएको हो। रु. ४ करोड ९८ लाख ७१ हजार १४१ रकम बोलपत्र कबुल गरी हनुमान कन्ट्रक्सनसँग सम्झौता भई निर्माण सम्पन्न गरिएको हो। 

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्