Kathmandu Press

प्रतिनिधिसभामा अघि बढ्यो नागरिकतासम्बन्धी विधेयक

विरोधका सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभामा पेस गरेका हुन्।
प्रतिनिधिसभामा अघि बढ्यो नागरिकतासम्बन्धी विधेयक

काठमाडौं, असार २९ : ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभामा पेस गरिएको छ। आज (बुधबार) को प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन्।

‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवाल, एमालेका  सांसदद्वय शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधका सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभामा पेस गरेका हुन्।

गृहमन्त्री खाणले बाबुआमा नेपाली नागरिक भए पनि नागरिकता नपाउनेको संख्या लाखौं पुगिसकेको र उनीहरूले व्यवसाय गनलगायत अन्य काम गर्न नपाएको अर्थात् उनीहरूले असहज रूपमा बाँच्नुपरिरहेकाले नागरिकतासम्बन्धी विधेयक ल्याउनुपरेको उल्लेख गर्दै नागरिकताबाट वञ्चितहरुलाई नागरिकता दिने विधेयकलाई नरोक्न सांसदहरूलाई आग्रह गरेका थिए।

संविधानमा भएको नागरिकतासम्बन्धी प्रावधानअनुरूप नै विधेयक ल्याइएकाले सरकारलाई सहयोग गर्न उनले आग्रह गरेका थिए। तर विरोधको सूचना दर्ता गराउनेहरूले त्यसलाई फिर्ता गर्न मानेनन्।

सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अपहेलना भएको बताए।

सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत विधेयक आएको बताए। गृहमन्त्रीले पूर्वविधेयकलाई हलमा पेस नै नगरी सहमति नजुटेको भन्नु गलत रहेको बताए।

सांसद सुवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलगअलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने माग राखे।

तीनै सांसदको विरोधको सूचना अस्वीकृत भएलगत्तै गृहमन्त्री खाँणले विधेयक पेस गरेपछि सो विधेयकलाई अघि बढाइएको हो।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्