जनताको छातीमा छर्रा हान्न हतियार किन्ने अनुमति कसले दियो : एमाले
काठमाडौं, असार २९ : सरकारले इटालियन कम्पनीबाट अवैधानिक रुपमा करोडौंको हतियार किन्न प्रकृया अगाडि बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ...
काठमाडौं, असार २९ : सरकारले इटालियन कम्पनीबाट अवैधानिक रुपमा करोडौंको हतियार किन्न प्रकृया अगाडि बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले हतियार खरिदको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिएका हुन्।
मानवअधिकार सम्बन्धी आधिकारिक संघसंस्थाले किन्न नहुने भनिरहेका बेला दुई दिनभित्र एलसी खोल्न दबाब दिएको भन्दै एमालेले प्रश्न उठाएको हो । अर्थतन्त्र संकटमा परेको समयमा करोडौं खर्चेर एक हजार थान ९ एमएम पेस्तोल, १ हजार १५० सट गन र २५ सय सेल अश्रुग्याँस र गोली गठ्ठा किन्ने प्रक्रिया अगाडि बढाउनु शंकास्पद रहेको पनि अधिकारीले बताए।
उनले नेपाल प्रहरी लगायत कुनैपनि सुरक्षा निकायले हतियारको माग नगरेको भएपनि कमिशनको चक्करमा रातारात दबाबमा विज्ञप्ति निकाल्न लगाइएको आरोप लगाएका छन्। ‘हतियार खरिद जनताको सुरक्षाका लागि कि कमिशनका लागि ?,’ सांसद अधिकारीले प्रश्न गरे, ‘जनताको छातीमा छर्रा हान्नका लागि बन्दुक किन्ने इजाजत कसले दियो ? किन यति हतार गरेर दुई दिनभित्र एलसी खोल्नुपर्ने ?’
उनले निवर्तमान अर्थमन्त्रीले हतियार किन्न सहमति दिँदै रकमान्तर गरेको विषयमा पनि प्रश्न गरेका छन् । ‘ अर्थमन्त्रीले रकमान्तर गरेर जानुभयो रे, रकमान्तर त औषधी किन्न गरिन्छ,’ उनले भने, ‘ इटालियन कम्पनी थोत्रा र म्याद सकिएका हतियारको डम्पिङ गर्न चाहन्छन् । नेपाल र नेपाली जनताको छाती डम्पिङ साइट होइन।’
सांसद अधिकारीले हतियार किन्ने विषय अत्यन्त गम्भीर र संवेदनशील भएका कारण प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए। ‘कुन–कुन मितिमा क–कसले माग गर्यो र कुन– कुन मूल्यमा कसरी खरिद गर्ने ? सरकारले हतियार खरिदको औचित्य पुष्टि गर्नुपर्छ । संसद जानकार हुन पाउनुपर्छ,’ उनले भने।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

