Kathmandu Press

उपेन्द्रलाई बाबुरामको चुनौती : वीरगञ्जकाे बैठक स्थगित गरी छलफलमा आउनुस्

काठमाडौंमा जारी केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले उपेन्द्र यादवले अवैधानिक र गलत मनशायले वीरगञ्जमा बैठक राखेको आरोप लगाए। 
उपेन्द्रलाई बाबुरामको चुनौती : वीरगञ्जकाे बैठक स्थगित गरी छलफलमा आउनुस्

काठमाडौं, असार २८ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवलाई छलफलमा आउन आग्रह गरेका छन्। 

काठमाडौंमा जारी केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले उपेन्द्र यादवले अवैधानिक र गलत मनशायले वीरगञ्जमा बैठक राखेको आरोप लगाए। 

उनले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पुनर्गठन र रुपान्तरणका लागि बैठक राखिएको बताए । ‘आफैले बनाएको पार्टी किन विभाजन गर्छौँ ? हामीले बनायौं, फुटबाट जोगायौं, अहिले पनि पार्टीलाई रुपान्तरण र पुनर्गठन गर्ने मनशाय हो,’ उनले भने। 

भट्टराईले यादवलाई नडराउन र हिम्मतका साथ फेस गर्न चुनौती दिएका छन् । वैधानिक र विधिसम्मत ढंगले बैठक राख्न चुनौती दिँदै भट्टराईले भने, ‘अवैध ढंगले गलत मनशायका साथ आफ्नो गुटको मात्र बैठक अपायक बेमौसममा वीरगञ्जमा राख्नुभएको छ, त्यो बैठक तुरुन्त स्थगित गर्नुहोस् र यहाँ आउनुहोस् हामीसँग छलफल गर्न।’ 

भट्टराईले सबैलाई कन्भिन्स गरेर अर्को बैठक राख्न पनि आग्रह गरेका छन् । ‘हामीले हाम्रा कुराहरु राख्छौं, यदी साथीहरुलाई बुझाउन सकेनौं भने हाम्रो नियत खराब रहेछ, तपाईहरुले नंग्याउनुहोला हामी तयार छौं,’ उनले भने, ‘तर,विधि पद्धती तोडेर, मनपरी र स्वेच्छाचारी ढंगले हर्कत गर्दै जानुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन ।’

उनले पार्टी एकतालगत्तै जनकपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले मधेशी प्रधानमन्त्री हुनुपर्ने, दलित महिला प्रधानमन्त्री हुनुपर्ने बताएको स्मरण समेत गरे । ‘उहाँहरु अगाडि जानुभयो, म पछि पर्छु कि भन्ने मनशाय होइन। भ्रम छर्न खोज्छ भने त्यसमा सत्यता छैन,’ उनले भने। पार्टीलाई वैकल्पिक पार्टी बनाउने र संघीयता गणतन्त्र समाजवादलाई सुदृढ बनाउने योजना रहेको बताए।  
 
 

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्