नेकपा माओवादी अध्यक्ष प्रचण्ड र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं, असार २७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् ।
चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले सोमबार अपराह्न खुमलटार पुगी प्रचण्डसंग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रचण्डले एक चीन नीतिका लागि नेपाल र नेपाली जनता प्रतिवद्ध रहेको बताए ।
नेपालको बिकासको प्रक्रियामा चीनले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले चीनमा अध्ययनरत बिद्यार्थीहरुको समस्या समाधान, चीन नेपालबीचको व्यापार र नाका सहज रुपमा खोल्न आग्रह गर्नुभएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भेटका क्रममा लिउ जियानचाओले नेपालको बिकासको प्रक्रियामा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । बीआरआइका सम्झौतका सन्दर्भमा नेपालले गर्ने प्रस्तावलाई सहयोग गर्ने समेत उनले बताए ।
नेपालको कुनै पार्टीमा हस्तक्षेप गर्ने नीति नरहेको समेत लिउ जियानचाओले स्पष्ट पारेको श्रेष्ठले जानकारी दिए । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी रहेका थिए ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

