एमालेकाे अन्तरपार्टी निर्देशन : गठबन्धनबिना चल्दैन भन्ने मनोविज्ञान बदल्न जरुरी
काठमाडौं, असार २७ : नेकपा एमालेले अन्तरपार्टी निर्देशन–४ जारी गरेको छ। आज (सोमबार) जारी निर्देशनमा स्थानीय तह निर्वाचन–२०७९ को सामान्य समीक्षा गरिएको छ।स्थानीय...
काठमाडौं, असार २७ : नेकपा एमालेले अन्तरपार्टी निर्देशन–४ जारी गरेको छ। आज (सोमबार) जारी निर्देशनमा स्थानीय तह निर्वाचन–२०७९ को सामान्य समीक्षा गरिएको छ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा त्रुटि भएको एमालेले बताएको छ। लोकप्रियभन्दा पनि निकट व्यक्तिलाई उम्मेदवार बनाउँदा प्रतिकूल परिणाम आएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ।
समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउने, उम्मेदवारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटना भएको पनि एमालेले बताएको छ।
निर्देशनमा भनिएको छ, ‘आफू वा आफूले सिफारिस गरेको व्यक्तिले उम्मेदवारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउने, उम्मेदवारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरु देखा परे।’ असार मसान्तभित्र चुनावको समीक्षा गरी प्रतिवेदन पठाउन मातहतका कमिटीहरुलाई निर्देशन पनि दिइएको छ।
अन्तरपार्टी निर्देशनमा गठबन्धनबिना अगाडि बढ्न सकिँदैन भन्ने मनोविज्ञान बदल्न जरुरी रहेको पनि बताइएको छ।
‘राजनीतिक नैतिकता र स्वास्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखालाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन,’ निर्देशनमा भनिएको छ, ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मनोविज्ञान बदल्न जरुरी छ।’
पार्टीले आफ्नै सामर्थ्य, नेतृत्व र एजेण्डामा निर्वाचन लड्ने रणनीति तर्जुमा गरेको र राष्ट्रियस्तरमा कसैसँग तालमेल नगर्ने नीति अख्तियार गरिए पनि स्थानीय तहमा भने पार्टीप्रति सकारात्मक पक्षहरुसँग आवश्यकता अनुसार तालमेल गर्नसक्ने गरी विकल्प खुला राखिएअनुसार सीमित पालिकाहरुमा विभिन्न पक्षसँग तालमेल गरिएको पनि उल्लेख छ।
समग्र मतको विश्लेषण गर्दा यसपालिकाे स्थानीय निर्वाचनमा एमालेले पहिलो स्थानमा कायमै राखेकाे बताएकाे छ। 'एमालेले अघिल्लो निर्वाचनमा सदर कूल मतको एक तिहाई मत (३३%) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४%) वृद्धि गरेको छ,' निर्देशनमा भनिएकाे छ, 'मत सब्ख्याका हिसाबले अघिल्लो निर्वाचनको तुलनामा ६ लाख ८१ हजार २५४ र प्रतिशतमा २१.८ प्रतिशतले जनमत वृद्धि भएको छ।'
स्थानीय निर्वाचनमा अपेक्षाअनुरुप परिणाम नआएकाले पार्टीपङ्क्ति अझै पनि निर्वाचनको धङधङी रहेको देखिएकाे एमालेकाे निष्कर्ष छ। अब त्यसबाट मुक्त भएर अर्काे निर्वाचनकाे तयारीमा लाग्नुपर्ने एमालेले बताएकाे छ।
'आरोप, प्रत्यारोप र आपसी आशङ्का अझै बाँकी छन्। यस स्थितिबाट पार्टीपङ्क्तिलाई मुक्त गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित गर्न जरुरी छ,' निर्देशनमा उल्लेख छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

