Kathmandu Press

लिउद्वारा स्माइलिङ चिल्ड्रेन परियोजना उद्घाटन, नेपाली बालबालिकालाई चीन आउन आग्रह

काठमाडाैं, असार २७ : ग्लोबल डेभलपमेन्ट तथा साउथ कोअपरेसन फन्डका सहयोगमा काठमाडौं वसन्तपुरस्थित मरुटोलमा रहेको शान्ति निकुञ्ज माविमा स्माइलिङ चिल्ड्रेन परियोजना सुरू गरिएको...
लिउद्वारा स्माइलिङ चिल्ड्रेन परियोजना उद्घाटन, नेपाली बालबालिकालाई चीन आउन आग्रह
तस्बिर : रत्न श्रेषठ/रासस

काठमाडाैं, असार २७ : ग्लोबल डेभलपमेन्ट तथा साउथ कोअपरेसन फन्डका सहयोगमा काठमाडौं वसन्तपुरस्थित मरुटोलमा रहेको शान्ति निकुञ्ज माविमा स्माइलिङ चिल्ड्रेन परियोजना सुरू गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसाल र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले उक्त परियोजनाकाे उद्घाटन गरे।

साे अवसरमा नेता लिउले चीन सरकारकाे साउथ कोअपरेसन फन्डले नेपालको विकासमा सहयोग पुग्ने बताए। 

‘चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ। दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ। मैले आज बिहान बीपी कोइरालाको इतिहास हेरें अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढें,' उनले भने, 'हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ। त्यसैले यो सानो परियोजनाले पनि यस कोषको समर्थन पाउँछ भन्ने आशा छ।’

लिउले खुसी भए मात्रै स्वस्थ रहन सक्ने बताउँदै राम्रो अध्ययनका लागि स्वस्थ र खुसी हुनुपर्ने आवश्यकता औंल्याए। उनले आजका बालबालिका भविष्यमा नेपाल र चीनका मित्रताका परिपूरक बन्ने उनकाे भनाइ थियाे। उनले नेपाली बालबालिकालाई चीन भ्रमणमा आउन पनि आग्रह गरे।

प्रमुख लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा मन्त्री भुसालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरिन्।

मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताइन्। उनले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरिन्। मन्त्री भुसालले भनिन्, 'संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ।' 

सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीsरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन्।

शताब्दीऔदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उनले भनिन्, 'दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ।'
    
खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको बताइन्। चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उनले स्मरण गरिन्। चीन नेपालको सुखदुःखको साथी रहेको भन्दै मन्त्री भुसालले २०७२ सालमा गएको भूकम्प र कोभिड–१९ महामारीमा चीनले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरिन्।

साे अवसरमा मन्त्री भुसाल र नेता लिउले विद्यार्थीसँग आत्मीयता साट्न आफैंले खाना पस्किएर खुवाए। विद्यार्थीले पनि उनीहरूलाई नृत्यले स्वागत गरे।  

चारदिने भ्रमणमा रहेका लिउ आइतबार बिहान नेपाल आएका हुन्। आइतबार ने उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाइ भेटे।

भ्रमणका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम छ। उनी बुधबार बिहान चीन फर्किनेछन्।

 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्