चिनियाँ नेता जियानचाओ बालुवाटारमा, प्रधानमन्त्री देउवासँग छलफल
प्रधानमन्त्री देउवालाई भेट्न उनी आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। आजै नेपाल आइपुगेका उनले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरेका हुन्।
काठमाडौं, असार २६ : चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री देउवालाई भेट्न उनी आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। आजै नेपाल आइपुगेका उनले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरेका हुन्।
भेटवार्तामा दुई पक्षीय सम्बन्धबारे चर्चा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको भेटपछि जियानचाओले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा होटल मेरियटमा रात्रिभोज आयोजना गरेका छन्।
गत जुनमा सिपिसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन्।
नेपाल भ्रमणअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल कुराकानी गरेका थिए।
भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम छ।
उनी बुधबार बिहान चीन फर्किनेछन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

