Kathmandu Press

सवारीसाधनमा अश्लील तथा महिलालाई होँच्याउने वाक्य लेख्नेलाई कारबाही होला? 

सवारीसाधनमा राम्रै साहित्य लेखिए पनि त्यसले अरुको ध्यान खिच्छ । हामीकहाँ चल्ने सवारीसाधनमा कुनै वर्ग, समूह तथा महिलालाई होँच्याउने खालका वाक्य बढी देखिएको सहप्रवक्ता राणा बताउँछन ।
सवारीसाधनमा अश्लील तथा महिलालाई होँच्याउने वाक्य लेख्नेलाई कारबाही होला? 

काठमाडौं, असार २६ : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकामा चल्ने र भित्रिने सार्वजनिक सवारीसाधन तथा मालवाहक साधनमा लेखिएका अश्लील वाक्यलाई मेट्न थालेको छ। 

महिला, कुनै वर्ग तथा समुदायको अपमान हुन नदिन र सम्भावित दुर्घटना रोक्न बिहीबार (२३ असार) देखि यो अभियान सुरु गरेको कार्यालयले जनाएको छ। कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणा भन्छन्, ‘अश्लील र द्विअर्थी वाक्यले सामाजिकसँगै मानसिक खलल पुर्‍याउँछ, हिंसा र विकृति बढाउन मद्दत गर्छ। यसले सडक सभ्यतामा पनि आँच पुर्‍याउँछ, त्यसैले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो।’

उनका अनुसार, सवारीसाधनका विभिन्न भागमा लेखिएका अश्लील, उत्तेजक, गालीजन्य लगायत वाक्यले अन्य चालक–सहचालक र यात्रुको ध्यान खिच्ने र दुर्घटना निम्तिने सम्भावना रहन्छ। ‘हामीले अध्ययन गर्दा त्यस्ता शब्दले समाजमा विकृति ल्याउने र दुर्घटना पनि बढाउने देखिएपछि हटाउने निर्णय गरेका हौँ। त्यस्ता वाक्य पढ्न ट्राफिक लाइटको फलो नगर्ने, आफ्नो रुटभन्दा बाहिर चलाउने, तीव्र गतिमा चलाउने हुँदा दुर्घटनाको जोखिम बढ्ने देखियो,’ उनले भने।

सवारीसाधनमा राम्रै साहित्य लेखिए पनि त्यसले अरुको ध्यान खिच्छ। हामीकहाँ चल्ने सवारीसाधनमा कुनै वर्ग, समूह तथा महिलालाई होँच्याउने खालका वाक्य बढी देखिएको सहप्रवक्ता राणा बताउँछन्। ‘त्यस्ता वाक्यले समाजमा विकृति ल्याउँछ  । साथै कुनै वर्ग तथा समूहलाई लक्षित गरेर व्यंग्य गर्नु कानुनविपरीत हो,’ उनले भने।

उपत्यका भित्रिने हरेक सवारी तथा मालवाहक साधनमा स्टिकर तथा साहित्य, विभिन्न भनाइ भए हटाउनुपर्ने, अन्यथा कानुनी कारबाही हुने प्रवक्ता राणा बताउँछन्। ‘तत्काल कारबाही सुरु गरिसकेका छैनौँ, तर लेखिएका शब्दको भाव र अर्थ अनुसार सजाय हुन सक्छ,’ प्रवक्ता राणाले भने, ‘अहिले भने चालकलाई मेट्न लगाइरहेका छौँ, अटेर गरेमा कानुनी कारबाही गर्छौं। तत्कालका लागि उपत्यकामा मात्र अभियान सञ्चालन गर्छौं, बिस्तारै यसलाई देशव्यापी बनाउने योजना छ।’ 

तत्कालका लागि कानुनी कारबाहीभन्दा पनि चालक तथा सहचालकलाई सचेतना जगाएर न्यूनीकरण गर्ने उनको भनाइ छ। 
सवारीसाधन वा मालवाहक साधनमा मात्र होइन, सार्वजनिक स्थल तथा शौचालयमा समेत कुनै वर्ग, लिंग तथा समुदायको अपमान हुने गरी साहित्य तथा भनाइ लेखिएको देखिन्छ। ट्राफिक प्रहरीको कार्यक्षेत्रमा सार्वजनिक स्थल नपर्ने भएकाले अहिले आफूहरु सवारी वा मालवाहक साधनतर्फ मात्रै केन्द्रित रहेको राणाले बताए। 

महिलामाथि व्यंग्य

सार्वजनिक सवारीसाधनमा मात्र होइन, कहीँ पनि महिला वा कुनै वर्ग र समुदायलाई होँच्याउने खालका साहित्य वा भनाइ लेखिनु, बोलिनु हुँदैन। समाजशास्त्री मीना उप्रेतीका अनुसार, अहिले हरेक स्थानमा ग्राहक बढाउन, मनोरञ्जन दिन वा लिन, व्यंग्य गर्न महिला पात्र रोजिन्छ। ‘सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा लेखिएका धेरैजसो शब्द तथा वाक्य महिलालाई होँच्याउने खालका तथा विभेदजन्य हुन्छन्,’ समाजशास्त्री उप्रेती भन्छिन्, ‘तर, तिनलाई मनोरञ्जनका रूपमा लिने गरेको पाइन्छ।’

उपत्यका ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका अश्लील वाक्य हटाउन सुरु गरेको अभियान सम्मानजनक भएको उप्रेती बताउँछिन्। ‘सवारीसाधनमा मात्र होइन, सार्वजनिक स्थलमा समेत त्यस्ता शब्द लेख्नेलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छिन्, ‘त्यस्ता शब्दले समाजको चेतनाको स्तर र महिलाको अवस्था जनाउँछ। महिलालाई सस्तो प्रचारको रूपमा लिइएको छ, जुन पुरुषले लेखेका हुन्।’ 
 

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्