लगानीकर्ता, डाक्टर, इन्जिनियर र वित्तदातालाई साउदी अरबले जारी गर्यो गोल्डेन भिसा
साउदी अरबमा सोमबारदेखि थप ७३ जनाले चाहेसम्म बस्न पाउने भएका छन्। साउदी अरबले हालै मात्र नयाँ “प्रिमियम” आवासीय योजना सुरू गरेको छ।
हजारौं आ....
साउदी अरबमा सोमबारदेखि थप ७३ जनाले चाहेसम्म बस्न पाउने भएका छन्। साउदी अरबले हालै मात्र नयाँ “प्रिमियम” आवासीय योजना सुरू गरेको छ।
हजारौं आवेदकबाट छनोट गरिएका ती व्यक्तिहरूले स्थायी आवासीय अधिकारका लागि आठ लाख रियाल र नवीकरणीय एक वर्षे अनुमतिका लागि एक लाख रियाल बुझाउनुपर्नेछ।
यो भिसाले अतिविशेष लगानीकर्ता, डाक्टर, इन्जिनियर र वित्तदातालाई सम्पत्ति खरिद गर्न र साउदी अरब अधिराज्यमा स्वतन्त्रतापूर्वक व्यवसाय गर्ने अनुमति दिनेछ। साउदी अरब तेलबाहेक अन्य दीर्घकालीन लगानीका श्रोतहरूको खोजीमा छ। यस्तो भिसालाई गोल्डेन भिसा पनि भन्ने गरिन्छ। आजभोली गोल्डेन भिसा सामान्य बन्दै गएको छ।
विश्वका सीमानाहरू अधिकांश आप्रवासी र शरणार्थीका लागि बन्द भए पनि पैसा तिर्नसक्नेका लागि खुला छ। धनाढ्यहरू थाइल्यान्ड, लाट्भिया र संयुक्त अधिराज्यमा अब भिसा वा सिधै नागरिकता खरिद गर्न सक्छन्। युरोपेली संघका कम्तिमा चार देशले “पासपोर्ट फर पर्चेज” को विशेष सुविधा दिएको छ।
अति धनाढ्यका लागि लगानी गरेर नागरिकता लिने कार्यक्रम सजिलो हुन्छ। यसका लागि भाषिक सीप वा देशमा आवास आवश्यक हुनसक्छ। झण्डै ६० वटा देशहरूले यो कार्यक्रम कार्यान्वयन गरेका छन्। यसले अन्तर्राष्ट्रिय लगानीलाई राष्ट्रिय अर्थतन्त्रमा भित्र्याउँछ।
अघिल्लो महिना सुरू भएको मोन्टेनिग्रोको गोल्डेन भिसा कार्यक्रमले पहिलो तीन वर्षमा करिब एक अर्ब अमेरिकी डलर संकलन गर्ने अनुमान छ। पनामामा लगानीकर्ताले ८० हजार अमेरिकी डलर बुझाएर आवासको अधिकार पाउन सक्छन्। उनीहरूले देशमा टिकको उद्योगमा लगानी गर्नुपर्छ। संयुक्त अधिराज्यमा केही कठोर नियम छ। टियर १ इन्भेस्टमेन्ट भिसा कार्यक्रमका लागि योग्य हुन गैर युरोपेली संघका नागरिकले कम्तिमा पनि २० लाख पाउण्ड संयुक्त अधिराज्यको अर्थतन्त्रमा लगानी गर्नुपर्दछ।
भिसा लोकप्रिय बन्दै गइरहेको छ। ब्रेक्जिटको अनिश्चितता भए पनि सन् २०१९ मा प्रति वर्षको तुलनामा आवेदकहरू ३६ प्रतिशतले बढे। तीमध्ये ४० प्रतिशत चिनियाँ छन्। यस्ता मामिलाहरूमा पाँच वा ६ वर्षको अवधिपछि आप्रवासीले नागरिकताका लागि आवेदन दिन सक्छन्।
तर युरोपेली संघजस्तो अन्तर्राष्ट्रिय निकायहरूले यसलाई नियन्त्रण गर्न आह्वान गरेका छन्। ट्रान्सपारेन्सी इन्टरनेसनलको एउटा प्रतिवेदनले उत्तरदायित्व र पारदर्शिताको चिन्ताजनक अभाव भएको पत्ता लगाएको छ। आपराधिक पृष्ठभूमिका आवेदहरूलाई भिसा प्रक्रियामा सहभागी गराइएको प्रतिवेदनमा उल्लेख छ।
“उनीहरूको प्रकृति अनुसार गोल्डेन भिसा योजना अपराधी र भ्रष्टहरूका लागि आकर्षण बन्दै गएको छ,” प्रतिवेदनमा लेखिएको छ। केही मामिलामा देशहरूले ९० प्रतिशतभन्दा धेरै आवेदकलाई भिसा प्रस्ताव गरेको पाइएको छ।