संशोधन नगरिएसम्म सुदूरपश्चमकाे बजेट पारित हुन नदिने कांग्रेसकाे निष्कर्ष
धनगढी, असार २५ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।आज (शनिबार) बसेको कांग्रेस...
धनगढी, असार २५ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
आज (शनिबार) बसेको कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको हो।
कांग्रेस संसदीय दलका अनुसार बैठकले बजेट जनताको हितमा नभएकाले संशोधन गर्नुपर्ने अन्यथा पारितका लागि साथ दिन नसकिने निर्णय गरेको हो। बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने जनाइएको छ।
संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहित प्रदेशसभाका सात सदस्य सहभागी थिए।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले गत १ असारमा बसेको प्रदेशसभा बैठकमा ३६ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेको थिए। सो बजेटमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका कारण अहिलेसम्म छलफल अघि बढ्न सकेको छैन।
माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरिनसके पनि सो पार्टीका अधिकांश सांसदले यथास्थितिमा बजेट पारित गर्न नसक्ने अभिव्यक्ति दिएका छन्।
बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट भन्दै खारेज नै गर्नुपर्ने माग एमालेको छ। प्रदेशको बजेट असारभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। समय घर्किन लाग्दासम्म पनि प्रदेशसभामा बजेटमाथि छलफल अघि बढ्न सकेको छैन।











