मेयर बालेनले घरमै पुगेर डा. भट्टराईलाई भेटे
काठमाडौं, असार २४ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम...
काठमाडौं, असार २४ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन्।
मेयर निर्वाचित हुनुअघिदेखि विभिन्न दलका नेतालगायत अन्य महत्वपूर्ण व्यक्तिलाई भेट्न थालेका बालेनले निर्वाचित भएपछि पनि भेटघाटलाई निरन्तरता दिएका छन्। उनले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतालाई भेटिसकेका छन्। सोही क्रममा उनले पछिल्लो पल्ट भट्टराईलाई भेटेका हुन्।
बालेनले भट्टराईलाई निवासमै पुगेर उनलाई भेटेका हुन्। भेटमा काठमाडौँको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
‘काठमाडौँ मानपा मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श! सफलताको हार्दिक शुभकामना!’ भट्टराईले ट्विटरमा लेखेका छन्।
भट्टराईले बालेन, पत्नी हिसिला यमी भट्टराई, छोरी मानुसी यमी भट्टराईलगायत परिवारका अन्य सदस्यसँग खिचेको तस्बिर पनि ट्टिवरमा राखेका छन्।











