जनआन्दोलनकाे अन्तिम दिन पूर्वराजाले गरेकाे सम्बाेधन मैले लेखेकाे हुँ : ओली
काठमाडाैं, असार २४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनआन्दोलन अन्तिम दिन २०६३ वैशाख ११ मा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको...
काठमाडाैं, असार २४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनआन्दोलन अन्तिम दिन २०६३ वैशाख ११ मा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बाेधनको ड्राफ्ट आफूले तयार गरेको दाबी गरेका छन्।
छविलाल कार्कीको स्मृतिमा १२औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए। त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो। पार्टी अफिसको चौरीमा एउटा रुद्राक्षको छेवैमा बसेर मैले गरेको थिएँ।’
उनले सोही ड्राफ्ट ज्ञानेन्द्रले पढेको भन्दै त्यसमा दुईवटा कुरा रहेको बताए। ‘त्यसमा मैले दुईवटा कुरा गरेको थिएँ, भंग गरेको पुर्नस्थापना गर्दिएको छु र दलीय व्यवस्था फर्काइदिएको छु,जनताको नासो जनतामा फर्काएको छु भनेर,’ ओलीले भने। त्यसपछि विघटित संसद पुनःस्थापना भएको उनले बताए।
उनले वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने पनि बताए। देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाँधली गर्ने काम गरेको भन्दै उनले वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका हुन्।
ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख गरे। वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको उनको भनाइ छ।
त्यस्तै ओलीले सरकारले बस्ने मान्छेले नराम्रा काम गरे पनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको बताए। अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने उनले ठोकुवा गरे।











