त्रिविलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्था बनाउनु आवश्यक : प्रधानमन्त्री
काठमाडौं, असार २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन्।त्रिविका कुलपति एवं...
काठमाडौं, असार २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन्।
त्रिविका कुलपति एवं सभाका अध्यक्ष समेत रहेका देउवाले शुक्रबार त्रिविको ६३औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री देउवाले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका हुन्।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको उनले बताए।
प्रधानमन्त्री देउवाले समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु राष्ट्रिय दायित्व भएको बताए।
‘हाम्रो सन्दर्भमा आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो।’











