Kathmandu Press

बलात्कार मुद्दामा हदम्याद बढाउन सहमति, बढीमा तीन वर्षसम्म उजुरी दिन पाइने व्यवस्था

काठमाडौं, असार २४ : बलात्कार मुद्दामा हदम्याद बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा दुई वर्ष बढाउन सहमति जुटाएको छ।संसदको कानुन, न्याय तथा मानवअधिकार...
बलात्कार मुद्दामा हदम्याद बढाउन सहमति, बढीमा तीन वर्षसम्म उजुरी दिन पाइने व्यवस्था

काठमाडौं, असार २४ : बलात्कार मुद्दामा हदम्याद बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा दुई वर्ष बढाउन सहमति जुटाएको छ।

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको आज (शुक्रबार) बसेको  बैठकले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हो।

सुन्दरी प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि ज्यादती गरेको भन्दै एक युवतीको उजुरीपछि हदम्यादको विषयमा संशोधन हुनुपर्ने माग उठेको हो।
महिला अधिकारकर्मीले बलात्कार मुद्दामा हद म्याद हटाउनुपर्ने माग गर्दै आएका छन्।

सहमित अनुसार अब बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नुपर्नेछ।
बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्नेछ। माैजुदा कानुनमा घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने व्यवस्था छ।

थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परे थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष तीन महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। उनीहरुको हकमा तीन महिना औषधोपचार गर्न समय दिइएको हो।

यसैगरी अपांगता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। त्यस्तै विधेयकमा यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति भएको जुटेको छ।

बैठकले यौनजन्य हिंसासम्बन्धी सम्पूर्ण कानूनहरुको सरोकारवालासंग छलफल र अध्ययन गरि छिटो भन्दा छिटो समग्र कानून सुधारका लागि बिधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत गरेको सभापति पोखरेलले बताए। समितिको यो प्रस्तावसहितको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, असार २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्