Kathmandu Press

बेलायतका प्रधानमन्त्री जोनसनले दलको नेता र प्रधानमन्त्री पदबाट दिए राजीनामा

बेलायतका प्रधानमन्त्री जोनसनले दलको नेता र प्रधानमन्त्री पदबाट दिए राजीनामा

लण्डन, असार २३ : संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन।

श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका छन। जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गरेका छन।

उनले बालीबाट ट्वीट गर्दै भने, 'प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ। जोन्सनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा यूक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धिहरू हाँसिल गरेको छ। हामीलाई अहिले शान्ति र ऐक्यवद्धताको आवश्यकता छ। नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ।'

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो।

यसअघि हिजो बुधबार उनले बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट ‘व्यापक जनादेश’ पाएको र त्यो ‘जारी रहने’ बताएका थिए।

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा परेका थिए। यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए।

उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भएको थियो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।

यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए।

यसअघि मंङ्गलबारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उनी पदबाट हट्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्