उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्रकाे मातहतमा रहने
काठमाडौं, असार २३ : काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने भएको छ।सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा...
काठमाडौं, असार २३ : काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै संशोधनसहित पारित गरेको हो।
बैठकमा उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावमा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति भएको हो।
संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्ने समेत उल्लेख गरिएको छ।
त्यस्तै अध्यागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत् राखिएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गम्भीरतापूर्वक नै उपत्यकाको दायित्व निर्वाह गर्नुपर्ने भएकाले नै उक्त संशोधन ल्याइएको बताए।
उनले संशोधनलाई पूर्ववर्ती सरकारले अघि बढाएको र अहिलेको सरकारले समेत निरन्तरता दिएको जानकारी दिए। अहिले उक्त व्यवस्था अध्यादेशको रुपमा कार्यान्वयनमा रहेको मन्त्री खाँणको भनाइ छ।
यसअघि छलफलमा माओवादीका सांसदहरुले राजधानीको सुरक्षाका बिषयमा प्रदेश प्रहरीको अधिकार कटौति हुन नहुने बताएका थिए भने एमाले र कांग्रेसका सांसदहरुले उपत्यकाको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै गर्नुपर्ने गरी ल्याइएको संशोधनप्रति समर्थन जनाएका थिए।











