जनार्दन शर्माले नैतिकता देखाउनुभयो, गठबन्धनविरुद्धको डिजाइन फेल खायो : प्रचण्ड
‘गठबन्धन फुटाउने डिजाइन शर्माले त्याग गरेर असफल बनाइदिनु भएको छ। यसलाई लिएर बाँडिएका भ्रमबारे कार्यकर्ता र जनतालाई थाहा दिन सक्नुपर्छ।'
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनविरुद्धको डिजाइन फेल खाएको बताएका छन् ।
बिहीबार कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा जवाफ दिने क्रममा प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता देखाएका कारण गठबन्धनविरुद्धको षड्यन्त्र फेल भएको बताए । अर्थमन्त्रालयबाट शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश पनि फैलिएको बताएका छन्।
‘अर्थमन्त्रीजीले कुनै गल्ती नगरेको बताउनुभएको छ। त्यहीकारण उहाँको राजीनामाबाट राजनीतिक चरित्र, नैतिकता र त्यागको सन्देश गएको छ,’ उनले भने, ‘संसदमा पनि कुरा आइसकेपछि शर्माजीले आफ्ना कुरा राखेर पद त्याग्दै नैतिकता देखाउनु भएको छ।’
अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा नदिएको भए यही मुद्दालाई उचालेर गठबन्धन खतरामा पार्ने योजना बनिसकेको बताए ।शर्माको राजीनामाबाट गठबन्धनमाथिको खतरा टरेको उनले बताए। ‘गठबन्धन फुटाउने डिजाइन शर्माले त्याग गरेर असफल बनाइदिनु भएको छ। यसलाई लिएर बाँडिएका भ्रमबारे कार्यकर्ता र जनतालाई थाहा दिन सक्नुपर्छ, उनले थपे।











