बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली
बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
काठमाडौं, असार २३ : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार जारी मतदानमा विवाद उत्पन्न भएपछि प्रहरीले गोली चलाएको छ। वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि मतदान स्थगित भएको बुढीगंगामा पुनः मतदानमा समेत विवाद उत्पन्न भएको हो।
बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति तनावपूर्ण बनेपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले जानकारी दिए।
प्रहरीले तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएपछि पुन मतदान सुरु भएको उनले बताएका छन्। बुढीगंगाको मेरका लागि कांग्रेसबाट रंग खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।
यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।











