कृषिमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं, असार २३ : कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्धको रिटमा आज सुनुवाई हुँदै छ । सर्वोच्च अदालतमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल...
काठमाडौं, असार २३ : कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्धको रिटमा आज सुनुवाई हुँदै छ । सर्वोच्च अदालतमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो।
प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेका व्यक्तिलाई सरकारले मन्त्री नियुक्त गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईको वारेसमा रेजिना पौडेलले बुधबार रिट दायर गरेकी थिइन् । उक्त रिट बुधबार सर्वोच्चले दर्ता गरेर बिहीबार लागि पेसी तोकिएको छ।
यादव प्रतिनिधि सभामा पराजित उम्मेदवार भएकाले उनलाई मन्त्री बनाउने निर्णय संविधान विपरीत हुने जिकीर रिटमा गरिएको छ। यादवलाई मन्त्री बनाउनु संविधानमाथिको प्रहार र संविधानको मक्सद पूरा नहुने मात्र नभएर संविधानको अस्तित्व धरापमा पर्ने जिकीर रिटमा गरिएको छ।
यादव संविधान सभाको दोस्रो निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उठे पनि उनी पराजित भएका थिए। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनी पराजित भएका थिए।
संविधानको धाराको व्यवस्था विपरीत यादवलाई मन्त्री बनाइनु संविधानको मान्य सिद्धान्त विपरीत भएकोले, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्री पदबाट बर्खास्त गर्नु भनी परमादेशको आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।
असार २० गते राष्ट्रपतिको कार्यालयबाट भएको शपथ पनि बदर गर्न रिटमा माग गरिएको छ।











