हैजाको उच्च जोखिममा चितवन
चितवन, असार २३ : सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ। यी दुवै ठाउँमा यहाँका...
चितवन, असार २३ : सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ। यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन्।
भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन्। भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिन्छनज् । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उहाँले सुझाव दिए।
पौडेलले भने, ‘पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।” हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उनले बताए । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उनले सुझाए।
सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उनले बताए। ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उनले जानकारी दिए।
दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताए । रोग भित्रिन नदिन आवश्यक सावधानी अपनाउन भनिएको उहाँको भनाइ छ । भित्रिहालेमा नियन्त्रण र उपचारका लागि आवश्यक प्रबन्ध गरिने उनले बताए।











